

ओलीको प्रस्तावमा प्रचण्ड दङ्ग, साझा प्रस्तावबारे विचार गर्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चार महिनापछि महाधिवेशन गरी सहमतिमा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेका छन्।
चार महिनासम्म एकीकरणको स्पिरिटका आधारमा आफू अध्यक्ष पद नत्याग्ने तर त्यसपछिको एकल अध्यक्षका लागि सहमतिमा प्रचण्डलाई जिम्मा दिने बुधबार बालुवाटारमा भएको भेटवार्ताका क्रममा ओलीको प्रस्ताव थियो।
तर सरकारको नेतृत्व भने ५ बर्षका लागि आफूले नै गर्ने अर्को लिखित सम्झौताका विषयमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ। तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने कुनै खास विषयमा सहमति हुन नसकेको बताएका विवरण आएका छन्।
‘पार्टी विभाजनमा लैजानु भन्दा पनि चार महिना पर्खिएर सहमतिका आधारमा प्रचण्डलाई अध्यक्ष छाड्ने र आफू सरकारको नेतृत्वमा चुनावसम्म रहने प्रस्ताव ओलीले गर्नुभयो’, उच्च स्रोतले भन्यो,‘सोही स्पिरिटमा २८ गते हुने स्थायी समितिको बैठकमा सहमति खोजिने वा कुनै खास कार्यदलमार्फत सहमतिको खाका ल्याउने कुराकानी भएको छ।’
तर ओलीको यो प्रस्तावबारे प्रचण्डले कुनै जवाफ भने दिएका छैनन्। अहिले माधवकुमार नेपाललगायतका नेतासँगको परामर्शका आधारमा नै ठोस जवाफ र रणनीति बनाउने प्रचण्डको तयारी छ। ओलीले गरेको प्रस्तावबारे उनले सचिवालयमा रहेका आफूनिकट सदस्यहरूसँग परामर्श गर्नेछन्।
‘जटिल अवस्थामा आएको सकारात्मक प्रस्तावमा उहाँ (प्रचण्ड) दङ्ग नपर्ने कुरा भएन। तर स्थायी समितिमा पुगेका सचिवालयका दुवै प्रस्ताव फिर्ताको सर्त पनि अघि सारिएको छ’, स्रोतले भन्यो।
अर्कातिर ओली प्रस्तावमा प्रचण्ड सहमत हुने भन्ने विषयमा भने बालुवाटार विश्वस्त नरहेको बताइन्छ। आफ्नो समूहका नेतासँगको परामर्शका आधारमा नै प्रचण्डले फेरि अर्को विषय उठाउन सक्ने भन्दै बालुवाटार विश्वस्त हुन नसकेको हो।

