माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता


काठमाडौं – नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। उक्त दुई दलबीच एकीकरणको चर्चा चलिरहेका बेला विप्लव शनिवार बिहान खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।

उनीहरू बीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरी छलफल भएको स्रोतले बतायो। भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल समेत भएको बताइएको छ। ‘दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भयो,’ स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरू बीच भएको छ।’

छलफलमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। माओवादी केन्द्र र नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ।

प्रतिक्रिया