सिएमसी बिरामी मृत्यु प्रकरणः उपचारमा ५० लाख खर्च हुँदा पनि बाँचेनन् पौडेल!


काठमाडौं – चितवन मेडिकल कलेज (सिएमसी) को लापरबाहीले मृत्यु भएका भरतपुर महानगरपालिका–६ का बोधराज पौडेलको चितवन मेडिकल कलेजमै मात्र उपचारको क्रममा ५० लाख खर्च भएको परिवारले दावी गरेको छ।

शल्यक्रियाको अनुमति नै नपाएका अस्पतालका डा. सञ्जय कुमार यादवले कलेजो प्रत्यारोपण गर्दा ५ असोजमा मृत्यु भएका पौडेल (बुबा)को उपचारमा ५० लाख खर्च भएको मृतकका छोरा प्रशन्न पौडेलले बताए।

‘हामी बुबाकै भरमा बाँचेका थियौँ। हामीलाई उहाँको ठूलो आडभरोसा थियो। अब बुबा नै नभएपछि हाम्रो बिजोग भएको छ,’ छोरा प्रशन्नले भने, ‘हाँस्दै अपरेशन थिएटरभित्र छिर्नुभएका बुबाको पछि अस्पतालले लास बुझायो। हाम्रो मान्छे पनि गयो, धन पनि गयो।’

मृतक पौडेललाई आफ्नै श्रीमती सुशीला पौडेलले कलेजो दान गरेकी थिइन्। यतिबेला श्रीमानलाई कलेजो दान गरेकी सुशीलाको पनि स्वास्थ्य ठीक छैन। उनी हाल पोखरास्थित माइतीघरमा छिन्।

चार महिनादेखि सोही कलेजमा उपचार गराउँदै आएका थिए पौडेल। पीडित परिवारले मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका छन्।

मेडिकल कलेजका चिकित्सकहरूको चरम लापरबाही र कानुनअनुसार भौतिक साधन तथा जनशक्तिको अभावका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको छ।

शल्यक्रियाको अनुमति नै नपाएका डाक्टरले प्रत्यारोपण गरेको भन्दै उजुरी दिएको प्रशन्नले बताए। ‘डा. सञ्जयकुमार यादवसहितको टोलीले बुबाको कलेजो प्रत्यारोपण गरेका हुन्,’ उनले भने, ‘तर, उनलाई मानव अंग प्रत्यारोपण समन्वय समितिले प्रत्यारोपणको अनुमति नदिएको पाइएको छ।’

छोरा प्रशन्नका अनुसार अस्पताल, अस्पतालका सञ्चालक र डाक्टरविरुद्ध मेडिकल काउन्सिलमा कात्तिक १७ गते, मानव अंग प्रत्यारोपण समन्वय, समितिमा कात्तिक २१ गते र जिल्ला प्रशासन कार्यालय चितवनमा कात्तिक २३ गते उजुरी दिइएको हो।

पौडेलको सिएमसीमा कलेजो प्रत्यारोपणसँगै मृगौलामा भएको पथ्थरीको समेत शल्यक्रिया गरिएको थियो। तर, १२ घण्टा पनि नबित्दै पौडेलको आईसीयूमै ज्यान गयो। हाँस्दै अपरेशन थिएटरभित्र छिरेका पौडेलको पछि अस्पतालले लाश बुझाएको परिवारको भनाइ छ।

(बोधराज पौडेल मृत्यु प्रकरणबारे हामी थप फलोअपमै छौं। अर्को श्रृंखला पढ्न हामीलाई फलो गर्नुहोला।)

प्रतिक्रिया