कानुन व्यवसायीमाथि प्रहरीको बल प्रयोग, बारका अध्यक्ष श्रेष्ठसहित एक दर्जन वकिल घाइते


काठमाडौं – सर्वोच्च अदालत प्रांगणमा प्रहरीले वकिलहरुमाथि बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन वकिल घाइते भएका छन् । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।
झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका छन् ।

सोही क्रममा घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ । घाइते प्रकाश महर्जनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार हुँदैछ । उनको छाति र देब्रे खुट्टामा चोट लागेको छ ।

झडपका क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरु कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि घाइते भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । वैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया