छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु     


काठमाडौं – सर्लाही, सिरहा, सप्तरी, नुवाकोट, नवलपरासी(पूर्व), भक्तपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित सडकमा प्रदेश २-०३-००४ प ९५३९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई रुखमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज मुर्मथान मगर र २० वर्षीय मुकेश निमेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये सुरजको गढिमाई अस्पताल लालबन्दीमा र मुकेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-९ मुसर्नियास्थित सडकमा बा.१ ञ २०९३ नम्बरको बिद्युत प्राधिकरणको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० जिरोमाईल बस्ने १० वर्षीय नरेश तामाङको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर नोबेल अस्पताल रिफर गरिएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खडक नगरपालिका-७ कल्याणपुर चोकस्थित सडकमा स.१ त ७०१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सोही ठाउँस्थित कपाल काट्ने सैलुनभित्र छिर्दा सैलुनभित्र रहेकी सोही नगरपालिका-६ चकवा बस्ने ७० वर्षीया अनारदेवी पासवानको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानिय युनिभर्सल अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक र सैलुनभित्र रहेका ३ जना समेत गरी ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोट, ककनी गाउँपालिका-२ स्थित सडकमा ना.३ ख ११५९ नम्बरको बसको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका-१२ बस्ने २९ वर्षीय कृण्ण हरि बुढाथोकीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-३ ईटौरास्थित सडकमा ग.प्र.०४-००१ प २४०३ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय समिर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय अमर गुरौको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा प्रदेश ०२-०२७ प २३५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २९ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, बेलबारी नगरपालिका-५ कसेनिस्थित सडकमा को.२ त ८६८८ नम्बरको ट्याक्टर सोमबार राति ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रंगेली नगरपालिका-१ बस्ने १५ वर्षीय अबिनाश मरण्डीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया