
संविधान र लोकतन्त्रको हुर्मत नलिनुस्, सर्वोच्चका सबै श्रीमानहरू अब बिदा हुनुस्
अहिले न्यायालयमाथि न्यायाधीश स्वयंले अन्याय गरिरहेका छन् । न्यायालाई नै अन्यायमा परेका बेला अरू कसले न्याया पाउने ? इजलाशमा बसेर मुद्दा सुनुवाई गर्नुपर्ने न्यायाधीश अहिल रमिता गर्दैछन् । सर्वोच्च अदालतको प्रांगण दलको झण्डा बोक्ने वकिलहरूको खेलमैदान बनेको छ । विद्वान भनेर सम्बोधन गरिने कालोकोटधारीले अदालत परिसरमा देखाएको हर्कतले सिंगो न्याय क्षेत्रलाई लज्जित बनाएको छ । कुनै स्वार्थ समुहको डिजाइनमा निरन्तर इजलाश बहिष्कार गर्ने न्यायाधीश र उरन्ठेउला विद्यार्थी संगठनको जस्तो हर्कत गर्ने नेपाल बार एसोसियसनको गतिविपध शंकास्पद छ । बारको गतिविधिसँग कानुन व्यवसायीनै सन्तुष्ट छैनन् । बारका सिमित पदाधिकारी, पूर्वपदाधिकारीको लाजमर्दो व्यवहारले स्वाभिमानी वकिलहरूको समेत शीर निहुराएको छ ।
अहिले न्यायीक शुद्धीकरणको माग गरिरहेका छन् वकिलहरूले । माग आफैमा जायज नै हो । न्यायालय शुद्धीकरण हुनुपर्छ । तर, यो तथ्य प्रष्ट छ, वकिल बेञ्च सपिङदेखि सेटिङसम्मका यस्ता बिचौलिया हुन् जसको अगुवाइ बेगर न्यायाधीश चलमलाउन सक्दैनन्। प्रधानन्यायाधीस चोलेन्द्रशमशेर राणाको सम्पत्तिको फेहरिस्तसहित श्रोत सावित गर्न हाँक दिने शम्भु थापाजी र तौलेर घुष खुवाएँ भन्ने रमण श्रेष्ठले आफ्नो सम्पत्तिको श्रोत र आधार सार्वजनिक गरिदिनुभए उहाँहरुको नैतिकताप्रति उठीरहेको शंका समाधान हुने थियो । नत्र घिउ बेच्ने र तरबार बेच्ने बिचको आपसी झगडाको पचडा मात्रै देखिने भयो।
कतिपयले भन्लान्, यो बिषय कानुनमा कहाँ लेखिएको छ? तर जोर जबर्जस्ती गरेर बारले अदालतलाई खटनपटन,पजनी गर्ने भनेर कुन कानुनमा लेखिएको छ? भन्न सकिन्छ। विधि र प्रकृया मिच्ने कुरा वकिललाई सुहाउँदैन । संसद पनि मै, न्याय परिषद पनि मै, संबैधानिक परिषद पनि मै र हुँदाहुँदा प्रधान न्यायाधीश पनि मै, मै सर्वोच्च पदाधिकारी भनेजस्तो ब्यवहारले संबिधानवाद र लोकतन्त्रको हुर्मत नलिइयोस् ।
के हिजो कल्याण श्रीमान, सुशीला श्रीमान, अनुपराज श्रीमान, मीन बहादुर श्रीमानको पालामा भ्रष्टाचार भएन? के न्यायालयको यो बेथिति चोलेंद्र श्रीमानको पालामा मात्रै भएको हो भनेर सर्वोच्चका अहिलेका न्यायाधीशले छातिमा हात राखेर भन्न सक्नु हुन्छ? पात्र होईन प्रवृतिको बिरोध गर्ने क़ानून ब्यवसायीको भावना नेपाल बारले प्रतिनिधित्व गर्न पर्दैन? के नेपाल बार मैले घुश खुवाए पनी मुद्धा हारियो भन्ने २/४ वरिष्ठको पेवा हो?
बारले वकीलको हक़हितमा काम गर्ने की न्यायाधीशको राजिनामा माग्ने? कांग्रेसले जीते कांग्रेस बार, कम्युनिस्टले जीते कमनिस्ट बार । वकीलको बार खोई? हिजो गाेपाल पराजुली श्रीमान, आज चोलेंद्र श्रीमान, भोली दिपक श्रीमान , पर्सी अरु कुनै श्रीमान । कस्तो नज़ीर बसाल्न खोजेको? यस्ता गलत कार्य हिजोको पनि, आजको पनि र भविष्यमा हुने यस्तो अनैतिक काम पनि भत्सर्ना याेग्य छ । वरिष्ठज्यू घुस खुवाउने, सिण्डिकेट क़ायम राख्ने अनी दोष अरुलाई मात्रै दिने? ऐना आफूले पन हेर्ने की वरिष्ठ ज्यूहरु?
आज हजाराैं पीडितहरू अदालतको ढोकामा आएर पनि निराश हुँदै फर्कनुपरेको छ । सामान्य मानिसका समस्या न्यायाधीशलाई मतलव छैन भने न्यायाधीश भइरहने छुट हुँदैन । सर्वोच्चको सबै न्यायाधीशले राजीनामा गर्नुस् । सर्वोच्च शुद्धीकरणको शुरूवात अहिले आफ्नो मर्यादा विपरित काम गरेका सबै न्यायाधीशले राजीनामा दिएर गर्नुपर्छ । अहिले सर्वोच्चका सबै न्यायाधीशले सामान्य नैतिकता समेत गुमाइसकेकाले अब पदमा बसिरहन मिल्दैन ।
आम जनताका लागि व्यक्ति गाैण विषय हो, मूल विषय व्यवस्था हाे । स्वतन्त्र न्यायापालिका र निष्पक्ष न्यायका लागि अहिले सर्वोच्चमा रहेका न्यायाधीश सबैले एक साथ विदा लिनुपर्छ । न्यायाधीश बहाल रहँदै सर्वोच्चमा देखाएको आचरणविपरित हर्कतका परिणाम सुखद् हुनेछैनन् । भोलि भोली पनि न्यायालय अस्तव्यस्त बनाउन भूमिका खेल्नेहरू कसको स्वार्थमा न्यायालयको गरिमा समाप्त पार्न लागिपरेका थिए, जनजनले प्रश्न गरिनैरहनेछन् ।



कागजपत्र |
