
भाइटीका सपिङमा जाँदा स्कुटर दुर्घटनाकी घाइते रानीको पनि मृत्यु
काठमाडौं – सुर्खेतमा गत १८ कात्तिकमा दिदीभाई सवार स्कुटर दुर्घटनाका गम्भीर घाइते भएकी रानी रानामगरको पनि मृत्यु भएको छ। दुर्घटनामा भाई रविन रानामगरको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१२ की रानीको आइतबार राति कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन्। स्कुटर रविनले चलाएका थिए। उनकी दिदी रानी पछाडि बसेकी थिइन्।
उनीहरु (दिदीभाई) भाइटिकाको किनमेलमा निस्केका थिए। तिहारमा दिदीको हातबाट टीका लगाउन घर गएका रविन नेपाली सेनामा कार्यरत थिए। पछिल्लो ४ वर्षमा मात्र उनीहरुले तिहारको टिका लगाउने अवसर जुरेको थियो।
सेनामा जागिर खाएयता उनी दिदीलाई लिएर पहिलोपटक भाइटिकाको किनमेलमा जाँदै थिए। अन्ततः दुर्घटनामा उनीहरुको मृत्यु भएपछि घरमा रुवाबासी चलेको छ।
दुर्घटना गराउने मालवाहक ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म पनि चालक फरार नै रहेका छन्।
दिदीभाइको मृत्यु भएपछि स्थानीयले छिन्चु बजार बन्द गरेका छन्। सोमबार दिउँसोदेखि सुर्खेत–नेपालगञ्ज सडक खण्ड र बजार बन्द गरेको प्रहरीले जनाएको छ।



कागजपत्र |
