


मदिराले मातेपछि विमानस्थलमा पर्यटन बोर्डका सिईओ रेग्मीको आतंक !

काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् धनन्जय रेग्मी। रेग्मी, नेकपा एमालेका नेता योगेश भट्टराई पर्यटनमन्त्री हुँदा बोर्डमा पुगेका हुन्। रेग्मी १४ माघ २०७६ मा बोर्डको सिईओ नियुक्त भएका हुन्।
करिब २ वर्षको अवधीमा रेग्मीले पर्यटनको विस्तार र विकासमा सिन्को नभाँचेको आरोप छ। आफ्नो सेवा सुविधामा भने ऐन कानुन सबै मिचेर गर्न हुने वा नहुने सबै काम गरिरहेका बोर्डका कर्मचारीहरूले गुनासो पोखेका थिए।
आर्थिक अनियमिततामा डामिएका रेग्मीले मनलाग्दो ढंगले खर्चिने र बेथितिलाई प्रश्रय दिँदा पनि सम्बन्धित निकाय मौन रहेको छ। बोर्डमा नियुक्त भएलगत्तै उनले आफ्नै कार्यकक्ष र सचिवालय मर्मतका नाममा ऐन कानुन नियम मिचेर मनलाग्दी खर्च गरेको भन्दै विवादमा तानिएका थिए।
अत्याधिक मदिरा सेवन गर्ने रेग्मी फेरी विवादमा तानिएका छन्। मदिराकै विषयलाई लिएर सिईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विभागका नायब सुब्बामाथि हातपात गरेका छन्। जतिबेला रेग्मीले मदिरा सेवन गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
भाइटीकाको दिन अर्थात २० गते लन्डनबाट नेपाल आएका रेग्मीले भन्सार विभागका नासु सुमन थापामाथि चेकजाँचका क्रममा हातपात गरेका विमानस्थल प्रहरीले जनाएको छ। घटना गुपचुप राखिएको भएपनि अहिले फेरी यो घटना बाहिर आएको हो।
नासु थापालाई झापड हान्ने रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएपनि सम्बन्धित निकायले कारबाही गर्नुको सट्टा घटना गुपचुप राखिएको हो। मदिराको विषयमा सोधखोज गर्दा रेग्मीले नासु थापालाई हातपात गरेको विमानस्थल प्रहरीले स्रोतले जनायो।
नासु थापामाथि हातपात गर्नुको कारण ६ बोतल रक्सी हो। लन्डनबाट नेपाल फर्किंदा रेग्मीले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए। भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए, ‘साथमा कतिजना हुनुहुन्छ?’
थापाको प्रश्न सुन्नेबित्तिकै आक्रामक रुपमा प्रस्तुत भएका रेग्मीले थापामाथि आक्रमण गरेका हुन्। रेग्मीले थप्पड मात्रै लगाएनन्, ‘म को हो चिनेको छस्? विचार गर, नत्र….. म देश चलाउने मान्छे हुँ।’ समेत भने। थापामाथि हातपात भएपछि प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो।
प्रहरीका अनुसार सोधपुछको क्रममा समेत उनको बोली राम्रोसँग बुझिएको थिएन। रेग्मीले गल्ती भयो भनेर माफी मागेपछि ५ हजार जरिवाना तिराएर मात्र छाडिएको भन्सार विभागले जनाएको छ। भन्सार ऐन अनुसार कारबाही भएको प्रहरीले समेत पुष्टी गरेको छ।
पर्यटन बोर्डमा समेत लुट मच्चाउँदै आएका रेग्मीले विमानस्थलभित्रै नासु थापामाथि थप्पड हानेपछि उनलाई एउटा मात्र रक्सी दिएर बाँकी जफत गरिएको थियो। भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ।
रेग्मी लन्डनमा गत सोमबारदेखि भएको तीनदिने वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटनमन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआईपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए।
रेग्मीलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘रक्सी भनेपछि जे पनि गर्न पछि हट्दैनन् रेग्मी। खाएपछि जहाँ पनि बबाल मच्चाइहाल्छन्। त्यहि भएर हत्तपत्त उहाँसँग बसेर कसैले पनि रक्सी खानै मान्दैनन्।’
रेग्मीमाथि मोटो रकम घुस खुवाएर नियुक्ति लिएको आरोप लगेको थियो।

