ड्रोन उडाउन एसएसबीका एक दर्जन सुरक्षाकर्मी नेपाल प्रवेश


काठमाडौं – भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिररभिडियो खिचेको हो ।

नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध (ठोक्कर) को एक नम्बर स्थलबाट नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै एसएसबीको फौज नेपाल पसेको जानकारी आफूलाई आएको बताए ।

यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सँग पनि बुझेर गृह मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट पश्चिम) लाई निर्देशन दिइएको बताए

२०७८ साउन १५ मा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नदीमाथि ड्रोन उडाउन पनि भारतले अनुमति दिएको थिएन । साउन २३ मा जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालघाटबाट नदीको तल्लो भागको दुवै किनार हुँदै ड्रोनबाट धामीको खोजबिनका लागि पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयलाई पत्र लेखेको थियो तर उसले त्यसको जवाफ नै दिएन ।

त्यतिमात्र होइन दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकमाथिबाट भारतीय हेलिकोप्टर तारन्तार ओहोरदोहोर गर्न थालेपछि त्यसप्रति आपत्ति जनाउँदै भदौ २० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको थियो । भारतले त्यसको अहिलेसम्म जवाफ फर्काएको छैन । त्यस घटनाको दुई महिनापछि नवलपरासीको सुस्तामा पसेर पुनः एसएसबीले ड्रोनबाट सीमा निरीक्षण गरेको हो । एक सुरक्षा अधिकारीले सुस्ता क्षेत्रमा भएको पछिल्लो घटना भारतीय सुरक्षाकर्मीको बलमिच्याइँको निरन्तरता भएको बताए ।

प्रतिक्रिया