उदयपुरमा विद्युत सर्ट हुँदा आगलागी, डेढ करोड बराबरको क्षति


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात विद्युत सर्ट भई आगलागी भएको छ । राति करिब पाैने एक बजेतिर एक्कासी विद्युत सर्ट भएर आगलागी भएको हो ।

त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो ।

साँझ दिपावली गरेर हिँडेका उनीहरूको पसलमा एक्कासि विद्युत सर्ट भई आगलागी भएको स्थानीयले बताए । राति अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् ।

आगलागीबाट ३५ वटा मोटरसाइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।
न्युज कारखाना

प्रतिक्रिया