माओवादीका हतियार हामीसँग छैन, प्रचण्डले बेचिसकेः विप्लव


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीका हतियार आफूसँग नरहेको दाबी गरेका छन्।

सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण र खुला राजनीतिमा आएका उनले बचेखुचेका सबै हतियार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेचिसकेको बताएका छन्।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दा हतियारको विषयलाई पेचिलो रुपमा उठाइएको थियो। सरकार तीन बुँदे सहमति कार्यान्वयनका लागि इमान्दार नरहेको बताएका विप्लवले भने,‘हामीसँग कहाँ छ हतियार? हामी हतियारविहिन क्रान्तिमा होमिएका हौं, माओवादीका हतियार त प्रचण्डले उहिल्यै बेचिसकेका छन्।’

संसदीय व्यवस्था असफल भएकाले अब जनताको प्रत्यक्ष मतले कस्तो प्रणालीमा जाने भन्ने निर्णय हुनुपर्ने बताउँदै विप्लवले भनेका छन्,‘जनमत संग्रह हुनुपर्छ, हामी चुनावमा भाग लिन तयार छौं। जनताले जस्तो व्यवस्था स्वीकार गर्छन् हामी त्यसमा सहभागी हुनेछौं।’

समाजवादी बाटो रोज्ने कि पुँजीवादी संसदीय व्यवस्था भन्ने निर्णय जनताले नै गर्नुपर्ने बताएका उनले उक्त विषय प्रचण्डसँग पनि राखिसकेको बताएका छन्।

‘हामी सहकार्य गर्न तयार छौं तर जनमत संग्रह हुनुपर्छ भनेका छौं’, विप्लवले भने,‘तर उहाँहरु यहि संसदीय सत्ता राजनीतिको फोहोरी खेलमा हामीलाई पनि सामेल गराउन चहानुहुन्छ, हामी यो व्यवस्थालाई स्वीकार गर्दैनौं।’

प्रतिक्रिया