१ पुससम्म राजावादीको प्रदर्शन कहाँ–कहाँ हुँदैछ?


काठमाडौं– राजसंस्था पक्षधर र हिन्दू राज्यको माग गर्ने विभिन्न संस्थाले निरन्तर चलाइरहेको आन्दोलन र प्रदर्शन १ पुससम्म हुने भएको छ।

उनीहरूले विभिन्न ठाउँमा गर्ने कार्यक्रम तालिका अनलाइनन्युज सेभेनलाई प्राप्त भएको छ। सशक्त प्रदर्शनमा सामेल रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘राजसंस्था धोकाका साथ फालिएको थियो जनता चुपचाप बसेका थिए। तर अब त्यो धोका बुझेका जनता स्वतः सडकमा उत्रिएका छन्।’

उनका अनुसार जसले राजसंस्था र हिन्दूत्वको नाम बेचेर जनताबाट मत लिए, बदलामा उनीहरुले धोका मात्रै दिए । अध्यक्ष बस्नेतका अनुसार नेपाल जनताको आयोजनामा विभिन्न जिल्लामा मोटरसाइकलसहितका प्रदर्शन हुनेछन्।

आज बाराको निजगढमा बिहान ११ बजे, जलेश्वरमा १ बजे, २४ मंसिरमा बर्दघाटमा ११ बजे, २६ मंसिरमा दमौलीमा ११ः३० बजे, बैतडीको टुँडीखेलमा ११ बजे मोटरसाइकलसहितका प्रदर्शन हुनेछन्।

भैरहवामा १ बजे, २८ मंसिरमा गौरमा ११ बजे, दार्चुलाको मालिका अर्जुनमा १२ बजे कार्यक्रम तय भएको छ । यस्तै, पाल्पाको रामपुरमा १ बजे, २९ मंसिरमा गोरखामा १ बजे र कपिलवस्तुको जीतपुरमा १२ बजे प्रदर्शन हुनेछन्।

३० मंसिरमा सिरहाको चोहर्वामा १ बजे, १ पुसमा बागलङुको भगवती मन्दिरमा १ बजेबाट प्रदर्शन हुने बताइएको छ।

राजसंस्था र हिन्दूत्व मास्नका लागि विदेशीको इशारामा गणतन्त्रका नाममा राजनीतिक दलले धोका दिएको भन्दै प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनहरूमा पृथ्वीनारायण शाहको तस्बिरसहित सर्वसाधारण उपस्थित हुँदै आएका छन्।

प्रतिक्रिया