
सरकारले गति लिन सकेन : अध्यक्ष जबरा
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताएका छन् । उनले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका हुन् ।
“जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन”, उनले भने । सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उनले दुःखेसो पोखे । उनले भने, “मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरुलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुप¥यो ।”
अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाए । “त्यतिबेला नेकपाले पनि जनताको हितमा काम गर्न सकेन, आफैँमा झगडा गरेरै बसे, जनताको अपेक्षा विकास हुन्छ भन्ने थियो, विकासमा ध्यान दिनु आजको आवश्यकता हो”, उनले भने। वर्तमान सरकार नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उनको धारणा थियो ।
अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मालम्बी भएको नेपाल हिन्दू राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गरे । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य उदय मुस्याजू, जिल्लाध्यक्ष टुल्कु लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।



कागजपत्र |
