

डिआईजी सिंहको सफलताः राजपुर हत्याकाण्ड अभियुक्त पूर्वमन्त्री आलमका भाई भारतबाट पक्राउ

काठमाडौं– फरार अभियुक्त पक्राउ गर्ने अभियान नै चलाएका प्रदेश २ प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंहलाई अर्को सफलता मिलेको छ।
रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमलाई सिंहले खटाएको टोलीले भारतबाट पक्राउ गरेको छ।
भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरी ल्याइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको उच्च स्रोतले जनायो।
२७ चैत ०६४ मा चुनावको अघिल्लो दिन आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको र सो क्रममा एउटा सनसनी हत्याकाण्ड मच्चाइएको विवरण सतहमा आएको थियो । सोही बेला घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको उजुरीका आधारमा नै आलम पक्राउ गरिएका थिए। पूर्वमन्त्री आलम अहिले पूर्पक्षका लागि थुनामा छन्।
२६ असोज ०७६ मा आलमलाई पक्राउ गरी मुद्दा चलाइएको थियो। सोही प्रकरणमा सामेल रहेका कतिपयलाई पक्राउ गरिएको छ। अभियुक्त खोजी र नियन्त्रणका क्रममा महताफलाई भारतबाट पक्राउ गरी ल्याइएको हो।

