कांग्रेस महाधिवेशनः शेरबहादुर–शशांक मिलाउन भारतीय संस्थापनले यसरी गर्दैछ मध्यस्तता


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबाट नयाँ नेतृत्वको समीकरणमा भारतीय संस्थापनले पनि रुची देखाएको छ। अनौपचारिक रुपमा देखाएको यस्तो रुचीलाई उसले कांग्रेस नेताहरूको औपचारिक भ्रमणमा प्रस्तुत गरेको उच्च स्रोतले दाबी गरेको छ।

कांग्रेसको नयाँ नेतृत्वका लागि विभिन्न पक्षबाट दाबी भइरहेका बेला भारतीय जनता पार्टीका नेताहरूले भने संस्थापनबाट सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महामन्त्री डा. शशांक कोइरालाको समीकरण बन्दा उचित हुने सुझाव दिएको छ।

दशैंताका देउवा पक्षका नेता डा. प्रकाशशरण महतसहित तीन जनाको टोलीलाई औपचारिक रुपमा डाकेको भारतीय संस्थापनले केही दिन अघि मात्र महामन्त्री डा. कोइरालालाई पनि उक्त सुझाव दिएको बताइएको छ। यद्यपि, कोइरालाको भ्रमणलाई भने नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था बुझ्ने विषयसँग जोडिएको छ।

नेपालको सत्ता समीकरणका विषयमा नै सुक्ष्म रुपमा ध्यान दिएको भारतीय पक्षले एउटा शक्तिशाली दल कांग्रेसको महाधिवेशनमा पनि चासो दिएको हो। ‘कस्तो नेतृत्व आउने र आगामी आम चुनावबाट कसरी सहज रुपमा सहकार्य गर्न सकिन्छ भन्ने चासो स्वभाविक हुन्छ, भारतीय पक्षले त्यसैमा ध्यान दिएको हो’, उच्च स्रोतले भन्यो।

कांग्रेसको महाधिवेशनमा सभापतिका रुपमा देउवा र कोइरालाको दाबी रहेको छ। यसबाहेक उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि दाबी रहेको छ। उता डा. शेखर कोइराला पनि सभापतिको दौडमा छन्।

भारतीय संस्थापनको रुचीअनुसारको समीकरण बनेमा देउवा पुनः सभापति बन्न सक्ने आँकलन गरिएको छ। यद्यपि महामन्त्री कोइरालाको अडान र निर्णयले उक्त अवस्था आउने स्पष्ट छ।

प्रतिक्रिया