नेकपा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कारबाहीको माग किन गरे?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख सूर्य थापालाई उपाध्यक्ष बामदेव गौतमले नै कारबाहीको माग गरेपछि सामाजिक सञ्जाल तातेको छ।

प्रधानमन्त्री ओलीको पक्षधरता देखाउँदै उनीइतरका नेतामाथि जथाभावी टिप्पणी र तल्लो तहमा उत्रिएर बोल्न थालेपछि गौतमले यस्तो माग गरेका थिए।

सचिवालय बैठकमा नै थापालाई गौतमले कारबाहीको माग गर्नुपर्ने कारण किन आइलाग्यो त?

नेकपाको आन्तरिक विवादमा विनाअर्थ अन्य नेताको हुर्मत लिनेगरी थापाले सार्वजनिक फोरम र विभिन्न मिडियामा अन्तरवार्ता र विचार दिने गर्दै आएका थिए। खासगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि उनले कडा आक्रमणकारी टिप्पणी गर्दै आएका छन्।

थापाको यो शैलीबारे सचिवालयका अघिल्ला बैठक र स्थायी समितिमा पनि छलफल भएको थियो। त्यसपछि पार्टीका उच्च तहका नेताका बारेमा अनर्गल टिप्पणी र हुर्मत लिने खालका अभिव्यक्तिमा बन्देज लगाइएको थियो।

गएको केन्द्रीय समितिको बैठकमा पनि यो विषयले प्रवेश पाएपछि नेताबारे जे पायो त्यहि टिप्पणी नगर्ने सर्वसम्मतले पारित गरेको थियो । तर थापाले त्यस निर्णयलाई उल्लंघन गरि अघिल्लो पटकको विवादका क्रममा प्रचण्डविरुद्ध अख्तियारमा फाइलसम्म रहेको अभिव्यक्ति दिए।

नेकपा अध्यक्षबीच विवाद रहेका यी बीचका समयमा पनि थापा आक्रामक रुपमा सामाजिक सञ्जालदेखि मिडियामा प्रस्तुत हुँदै आएका छन्।

‘उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार र पार्टीका कनिष्ठ केन्द्रीय सदस्य भएकाले अनुशासनको दायरामा रहनुपर्छ, उपाध्यक्ष गौतमले यहि विषय उठाउनुभएको हो’, उच्च स्रोतले भन्यो,‘उनका अभिव्यक्तिका कारणले पनि कतिपय राजनीतिक उच्च तहका सम्बन्धमा दरार आइरहेका छन्।’

गौतमले सचिवालयमा भनेको उक्त विवरण सार्वजनिक हुनासाथ थापा उनीमाथि खनिन थालेका छन्। सामाजिक सञ्जालमा थापाले गौतमले गृहमन्त्री हुँदा डिभाइडर नाघेको तस्बिर राख्दै को कस्तो हो? भनी सोधेका छन्।

प्रतिक्रिया