शिक्षासेवी अभिनन्दित, अभिनन्दन गर्दै पूर्व विद्यार्थी


काठमाडौं – सर्लाही सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुई जनालाई अभिनन्दन गरिएको छ । त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पुर्‍याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो ।

विसं २०२७ पुस ९ बाट माध्यमिक तहको पढाइ सुरुआत भएको उक्त विद्यालय सर्लाही जिल्लाको उत्तरी भेगको पहिलो मावि हो । त्यस बेला सो जिल्लाका अतिरिक्त सिन्धुली, रौतहट, बारा र महोत्तरीबाट समेत उक्त विद्यालयमा नियमित पठनपाठनका लागि विद्यार्थी आउने गर्थे । पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले उद्घाटन गरेको उक्त विद्यालय यो वर्ष स्वर्ण महोत्सव मनाइरहेको छ ।

उक्त विद्यालयबाट विसं २०३२ मा एसएलसी परीक्षा दिने विद्यार्थी समूहले पूर्वप्रधानाध्यापकको अभिनन्दनका अतिरिक्त त्यस बेलाको शिक्षाको अवस्था, शिक्षकप्रतिको सम्मान र नागरिक समाजका जनहितकारी कार्यको इतिवृत्त समेटेर स्मारिक प्रकाशन गर्न लागेको पूर्वविद्यार्थी एवं साहित्यकार दिनेश अधिकारीले जानकारी दिए । उक्त विद्यालयबाट उत्पादित जनशक्ति अहिले मुलुकका विभिन्न विधामा ख्याति कमाएका छन् ।

प्रतिक्रिया