प्रचण्डको गृह जिल्लामा एमालेले ५ लाख कार्यकर्ता उतार्ने, चुनौति नदिएको दाबी


काठमाडौं– मंसिरमा महाधिवेशनको तयारी गरेको नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा ५ लाख कार्यकर्ता उतार्ने भएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा उक्त संख्यामा कार्यकर्ता उतार्ने र एमालेको शक्ति देखाउने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। उक्त निर्णय प्रचण्डलाई चुनौति दिनका लागि नभएको पनि एमाले बागमतीका अध्यक्ष आनन्द पोखरेलले बताएका छन्।

भौगोलिक रुपमा प्रतिनिधि र कार्यकर्तालाई चितवन आवत जावतका लागि सहज तथा केन्द्रमा रहेका कारणले महाधिवेशनमा उक्त संख्यामा कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ।

एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय लिएको थियो।

उद्घाटन नारायणी नदि किनारको खाली ठाउँमा गर्ने तयारी गरिएको छ। बन्दसत्रलगायतका लागि भने ठूलो स्थानको खोजी भइरहेको छ।

उनले महाधिवेशन चितवनमा गरेर एमालेलाई २०७४ सालको नेकपाको हैसियतको अवस्थामा पुग्ने बताए। एमालेले महाधिवेशन खर्चका लागि चन्दा नउठाउने दाबी गरेको छ।

प्रतिक्रिया