राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकका लागि सान्दर्भिक छैनः पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था बिनाको प्रजातन्त्र नेपालका लागि सान्दर्भिक नहुने बताएका छन्। दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मंगलबार भनेका छन्,‘प्रजातन्त्र बिनाको राजसंस्था पनि सान्दर्भिक हुँदैन।’

वर्तमान राजनीतिक अवस्थाप्रति चिन्तित बनेका उनले कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त? भनेर प्रश्न गरेका छन्।

राजनीतिक परिवर्तनको मर्म मुलुकसँग सम्बन्धित हुने बताएका उनले शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुराएको र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको  पनि उल्लेख गरेका छन्।

देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म–संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया