डडेलधुरा, कैलालीमा बस र विङ्गर दुर्घटना हँदा २८ घाइते


डडेलधुरा – धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । बसमा ५०-६० यात्रु रहेका र सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

त्यस्तै यता कैलालीमा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका–४, राजीपुरमा से१ज ११०५ नम्बरको विङ्गरले से६प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सवार ११ र मोटरसाइकल चालक घाइते भएका हुन्।

मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायव निरीक्षक विरबहादुर बोहराले बताए।

घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको उनले बताए।

प्रतिक्रिया