जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाईल र १ थान चेक बुक सहित फेला पारी पक्राउ गरेको हो ।

लमजुङ, मध्यनेपाल नगरपालिका-२ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङलगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया