

एमालेमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था, उमेर हद ७० वर्ष कायम

काठमाडौं – नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।
पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा सङ्गठनात्मक ढाँचामा केही परिवर्तन आउने भएको छ ।
अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित ५ जना उपाध्यक्ष, एक एक जना महासचिव र उपमहासचिव तथा ७ जना सचिव रहनेछन् ।
पार्टीमा एक व्यक्तिले दुई पटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । कुनै नेताले जिते पनि हारे पनि दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको हो ।
यस्तै उमेर हदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बिचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको छ ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा हुने भएको छ ।

