परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट जिम्मा न्यायाधीश कार्कीलाई


काठमाडौं – सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिटमाथि सुनुवाइ तोकेको छ । सर्वोच्चले न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोेकेको हो ।

गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो । कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ । रिटमा शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

संसद्को अधिवेशन नभएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ६ जेठमा ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी गरे पनि संसदबाट पारित नभई स्वतः निष्क्रिय भएकाले शपथ ग्रहणको कानुनी स्रोत नभएको जिकिर गरिएको छ । रिटमा कानुन विनाको शपथ कानुनी राज्यको प्रतिकूल हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया