

ओली प्रशासनले दुई देशको सम्बन्ध सुधारेको भारतीय विदेशमन्त्री एस जयशंकरको संकेत

काठमाडौं– भारतीय विदेश मन्त्री एस. जयशंकरले नेपाल–भारत सम्बन्ध सुधारिएको बताएका छन्। दी हिन्दूलाई दिएको एउटा अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिए पनि हालै भएका कतिपय भ्रमणलाई उल्लेख गरी नेपाल–भारत सम्बन्ध सुधारिएको चर्चा गरेका छन्।
सम्बन्ध सुधारको संकेतका रुपमा केही साता यता भएका भारतका उच्च अधिकारीको नेपाल भ्रमणको प्रसङ्ग जयशंकरले कोट्याएका छन्।
उनले ‘संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण’ मानेका छन्।
भारतको विरोधका वाबजुद् नेपालले संविधान घोषणा गरेको र गत वर्ष लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाल आफ्नो अडानबाट पछि नहटे पनि पछिल्लो समय भारतीय अधिकारीहरूले लगातार काठमाडौं भ्रमणको सन्दर्भमा हिन्दूले सोधेको प्रश्नमा जयशंकर भन्छन्,‘कुनै एउटा घटनालाई मूल्यांकनको आधार बनाउनु हुँदैन।’
उनले अगाडि जोडेका छन्,‘समस्या अझै पनि हुन सक्छन्, संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्। अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन्। मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन्। प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम गर्नुहुन्छ भन्ने हो।’
जय शंकरले हालै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको आकस्मिक काठमाडौं भ्रमण, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाको औपचारिक काठमाडौं भ्रमणतर्फ संकेत गर्दै भनेका छन्,‘जहाँसम्म नेपालको प्रश्न छ, तपाईंले भनेजस्तै हामीबीच समस्या भएको समय पनि थियो। केही सातायता हामीले प्रष्ट रूपमा देखेका छौं कि नेपाल र भारतले अब अघि बढ्ने निर्णय गरेका छन् र जुन दुबैको हितमा छ।’
भारतका उच्चस्तरीय भ्रमण केही साता यता मात्रै लगातार भएका थिए। यसबीचमा प्रधानमन्त्री ओलीसँग भारतीय अधिकारीले अनिवार्य शिष्टाचार भेट गरेका थिए। जसको प्रभावका आधारमा जयशंकरको यो अन्तरवार्ताको आन्तर्य रहेको बुझिएको छ।

