प्रचण्डका दुई लाइन संघर्षका पात्रः उत्तराधिकारीको खोजी कि उपयोगको सिद्धान्त?


काठमाडौं– नेकपा माओवादी केन्द्रको संगठनात्मक संरचना र सतहको जनमत खिइँदै गएका बेला त्यसलाई क्रियाशील बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन्। हालै स्थायी कमिटीको बैठकहरूमा उनले नेताहरूलाई जिम्मेवारी दिएका छन्।

जिम्मेवारी दिने क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रवास समितिमा थन्क्याइएको छ भने कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। तीन साता अघिमात्र यस्तो निर्णय भएको थियो।

तर माओवादीका दुई नेतालाई भने समानान्तर जस्तै जिम्मेवारी दिइएको छ। स्कुल विभाग आफैंले राखेका अध्यक्ष प्रचण्डले जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाउँदै अर्थमन्त्रीको जिम्मेवारीमा पठाएका छन् भने बर्षमान पुनःलाई हेडक्वार्टर हेर्नेगरी महासचिव सरहको जिम्मेवारी दिइएको छ।

यी दुई नेता माओवादीभित्रका बलिया समानान्तर फरक लाइन चलाउने गर्छन्। माओवादीभित्रका विविध जनवर्गीय संगठनमा यी दुवैको दबदबा रहेको छ। प्रचण्डले समानान्तर जिम्मेवारी दिनुको अर्थ कतै दुई लाइन संघर्षभित्र उपयोगवादी रणनीतिलाई बढावा दिएका त होइनन्?

कतिपयले माओवादी नेतृत्वको उत्तराधिकारीका लागि प्रचण्डले अभ्यास गरेको टिप्पणी गरे पनि आफू नेतृत्वमा हुन्जेल युद्धकालमा नै चलाएको संगठनात्मक ढर्रालाई प्रचण्डले स्थापित गर्न खोजेको बताइन्छ। युद्धकालमा प्रचण्ड आफू सुप्रिमो रहँदा हार्डलाइनरका रुपमा मोहन वैद्य किरण र सफ्टलाइनरका रुपमा डा. बाबुराम भट्टराईलाई प्रयोग गर्दै आएका थिए।

शान्ति प्रक्रियापछि पनि संगठनमा हाँक राख्न प्रचण्डले कहिले वैद्य त कहिले भट्टराईको लाइनको उपयोग गरेको बताइन्छ। ‘प्रचण्ड उपयोगवादी सिद्धान्तमा नै खेल्छन्। वास्तवमा उनको यो रणनीति हो’, वैद्यको पार्टीका एक जना नेता भन्छन्,‘यहि कारणले गर्दा आज उनको पार्टी पनि खिइन थालेको छ।’

एमालेसँग एकीकरण गरेपछि नेकपा बनाएर पनि उनले सोही शैलीमा संगठन चलाउने प्रयत्न गर्दा दुर्घटना भएको थियो। एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र उनका प्रतिस्पर्धी माधवकुमार नेपालबीच प्रचण्डले तीन बर्षमा बराबरी उपयोगको सिद्धान्त प्रयोग गरेको बताइएको छ। एमाले महासचिव ईश्वर पोखरेलले भनेका थिए,‘अन्तरविरोधमा खेल्ने प्रचण्डको बानी छ। एकताको सुरुका दिनमा ओलीसँग मिलेर एमालेको अर्को कित्तालाई धकेल्न लगाए, पछि अर्को कित्तासँग मिलेर ओलीलाई कमजोर बनाउन सक्रिय भए।’

अहिले माओवादी केन्द्रभित्र पनि प्रचण्डले शर्मा र पुनबीच शक्ति सन्तुलनजस्तै कायम राखेर सोही शैली अपनाएको प्रतीत हुने कतिपयले बताएका छन्। नेकपाको सरकार हुँदा पुनलाई मन्त्रीमा पठाएका उनले उक्त सरकार गिर्नासाथ शर्मालाई मन्त्री बनाए। लगत्तै, पार्टीभित्रको जिम्मेवारी हेरफेरका क्रममा पनि प्रचण्डले दुवै नेतालाई समानजस्तै जिम्मेवारी दिएका छन्।

कम्युनिस्ट पार्टीमा पार्टी कार्यालयको इञ्चार्ज र संगठन विभाग प्रमुख महासचिव बराबरको हैसियतमा हुन्छन्।

प्रतिक्रिया