खोटाङमा आठ जनामा डेंगु संक्रमण, सचेत रहन चिकित्सकको अनुरोध


खोटाङ – खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताए । उनका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् । “डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, उनले भने, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।”

डेङ्गु रोगबारे उच्च सतर्कता अपनाउन र रोगको नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अबलम्बन गर्न डा मल्लिकले सम्बन्धित पक्षलाई आग्रह गरे । एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच÷छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा। मल्लिकले बताए । डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भएपनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेलगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ ।

भर्खरै स्तरोन्नतिको काम शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समेत समस्या भइरहेको बताइएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताए । जिल्लामा सञ्चालित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पतालमा समेत बिरामीको सङ्ख्या उत्तिकै रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया