

४ किलो चरेससहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं – चरेस बोकेर कतारकाे दोहा जान लागेका दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’ सहित दुई जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र वीर बहादुर रोका मगर (३५ वर्ष) छन् । सोमबार बिहान उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए ।
विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र चरेश फेला परेको थियो । लागूऔषध ‘चरेस’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर उनीहरुमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । कतारमा सो चरेस पठाउने मुख्य आरोपी फरार छन् ।

