५ लाखको कपाली तमसुकमा मिल्दैथियो बलात्कार काण्ड, प्रहरीले हस्तक्षेप गर्दा ९ जना हिरासतमा


सिरहा– एउटी १६ बर्षिया किशोरी बलात्कार प्रकरणलाई स्थानीय पञ्चायतीका नाममा ५ लाख रुपैंयामा मिलाउने प्रयासलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले असफल बनाएको छ ।

सो प्रकरणका मुख्य अभियुक्तसहित मिलापत्र गराउने ९ जना मतियारलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थित शत्रुधन साहको घरमा बस्ने सिंहेश्वर साहको २२ बर्षिय छोरा मुकेशकुमार साहले स्थानीय १६ बर्षिया किशोरीलाई बलात्कार गरेको पुष्टि गर्दै पञ्चायतीमार्फत मिलाउने कोशीश भएको थियो ।

शत्रुधन साह र सिंहेश्वर साहसँग ५ लाखको कपाली तमसुक गराई जागिर यादवको जिम्मा दिनेगरी स्थानीय पञ्चायतीले निर्णय गरेको थियो । उक्त विषय प्रहरीले जानकारी पाउनासाथ हस्तक्षेप गरेको थियो । सो क्रममा मुख्य अभियुक्त बलात्कार आरोपित मुकेशकुमारसहित विष्णुपुर गाउँपालिका–१ का सिंहेश्वर साह, अरबिन्द साह, शत्रुधन साह, राजकुमार साह, रामउदगार यादव, जगवीर यादव, राजकुमार यादव र श्यामसुन्दर यादवलाई पक्राउ गरिएको हो ।

‘समाजको ठूलो अपराध मानिने बलात्कार जस्तो घटनामा कपाली तमसुक बनाई मिलापत्र गरी पीडितलाई अझ पीडा दिने र पीडकलाई उन्मुक्ति दिने सूचना पाउनासाथ प्रहरीले हस्तक्षेप गरी अनुसन्धान थालेको छ’, प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंह भन्छन्,‘सिरहा प्रहरी र प्रदेश प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिइएका अभियुक्तमाथि कानुनसम्मत छानबिन गरी मुद्दा दायर हुनेछ ।’

प्रतिक्रिया