कोरोनाले सुनसान बनेको गाउँमा कांग्रेसको चुनावी चहलपहल


पाल्पा – नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ। कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो।

वडातहको निर्वाचनमा सहभागी हुन जिल्लाबाहिर रहेका कांगे्रसका कार्यकर्ता पाल्पा आइसकेका छन्। वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भइरहेको छ।

हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको कांग्रेस पाल्पाले जनाएको छ।

कांगेरस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गैरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुनेछ। पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ। पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन्। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ(नगरपालिकास्तरको अधिवेशन भदौ २७ गते हुने भएको हो। वडा तहको निर्वाचन सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुन्।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन( एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने छ।

केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ। नेपाली काँग्रेस, पाल्पाका सभापति वीरबहादुर रानाले कांग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताएका छन्। रासस

प्रतिक्रिया