अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार, बाँकीको स्वदेश फिर्ता ल्याउन पहल जारी


काठमाडाैं – अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार गरिरहेको छ । काबुलमा रहेको अमेरिकी मिसनमा काम गर्ने नेपालीहरूलाई अमेरिकी मिसनले नै स्वदेश फर्काएको छ ।

अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसकेको जनाएको छ भने अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तानबाट फिर्ता भइसकेका छन् । अफगानिस्तानमा बाँकी रहेको सबै नेपालीको उद्धारका लागि छलफल र समन्वय तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

‘अहिले त्यहाँ बाँकी रहनुभएकाहरु सुरक्षित स्थानमा हुनुहुन्छ र सुरक्षित हुनुहुन्छ, उहाँहरूको उद्धारका लागि सरकारले पहल गरिरहेको छ,’ प्रवक्ता लम्सालले भने,‘हामी छिट्टै उहाँहरूको उद्धारका लागि प्रबन्ध मिलाउँछौँ ।’

काबुल विमानस्थलमा हमला भएपछि परिवारहरू चिन्तामा छन् । अहिले पनि सरकारले त्यहाँ रहेका र सरकारको सम्पर्कमा नआएकाहरूलाई जतिसक्दो छिटो सम्पर्कमा आउन भनिरहेको छ ।

प्रतिक्रिया