

बिहेकाे अघिल्लै दिन ड्रोन हमलामा मारिएका नजाबी…

काबुल – अफगानिस्तानको राजधानी काबुलमा आइतबार आतंककारीले कार बम आक्रमण गर्न खोजेको भन्दै त्यसलाई विफल पार्न अमेरिकाले ड्रोन हमला गर्यो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १७० जनाको ज्यान जानेगरी गत बिहीबार साँझ काबुलको विमानस्थल नजिक गरिएको बम हमला जस्तै आइतबार पनि गर्न खोजिएपछि त्यो रोक्न आफूले ड्रोन हमला गरेको अमेरिकाले दाबी गरेको छ ।
तर त्यस आक्रमणमा अमेरिकी सेनाकै सहयोगी समेत ९ जना सर्वसाधारण अफगान नागरिक मारिएका छन् । ६ जना बालबालिका छन् । आतंककारी कति जना मारिए वा मारिएनन्, त्यो चाहिँ अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
‘कार बम लिएर आत्मघाती आक्रमणकारी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अगाडि बढ्दै गरेको’ देखेपछि अमेरिकाले गरेको ड्रोन हमलामा अमेरिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्व अफगान अधिकारी नसिर नजाबी पनि मारिएका छन् ।
जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो । उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए । यसअघि पनि अमेरिकी सैनिकले बिहीबार काबुल विमानस्थलमा बम आक्रमण गर्ने आतंकककारी समूह इस्लामिक स्टेटलक्षित ड्रोन हमला गरेको थियो । त्यसमा काबुल विस्फोटका योजनाकार मारिएको दाबी अमेरिकाले गरेको छ । एजेन्सी

