एकीकृत समाजवादी र लोसपाका सांसदहरुको सूची निर्वाचन आयोगले संसदमा पठायो


काठमाडौं – निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी (एस) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ ।

नेपाल नेतृत्वको एसपामा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय लिएको छैन ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो । दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो ।

प्रतिक्रिया