बुस्टर डोजले डेल्टा भाइरस सजिलै नियन्त्रण हुन्छ : वैज्ञानिक


न्युयोर्क – वैज्ञानिकहरुले कोरोनाविरुद्ध लगाइने तेस्रो खोप अर्थात् बुस्टर डोजले डेल्टा भाइरस सजिलै नियन्त्रण गर्ने बताएका छन् । कोरोनाबिरुद्धको तेस्रो खोपबारे चौतर्फी बहस बढिरहेका बेला वैज्ञानिकहरुले तेस्रो डोजले डेल्टा भेरियन्ट नियन्त्रण हुने बताएका हुन् ।

अहिले अझै पनि विश्वका बिकासन्मुख देशमा खोप अभावमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । तर, अमेरिकालगायतका विकसित देशमा भने बुस्टर डोज दिने तयारी भइरहेको छ ।

विभिन्न भेरियन्टकोे उत्पत्तिसँगै वैज्ञानिकहरुले पनि बुस्टर डोजलाई जोड दिएका छन् । डेल्टा भेरियन्ट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैँलिदा कोरोना नियन्त्रणमा वैज्ञानिकहरुले गरेका प्रयासमा निराश छाएको थियो । खोप लगाएका धेरै मानिसहरुमा एन्टिबोडिको तह न्यून देखिन थालेपछि इजरायललगायतका देशले बुस्टर डोज दिनुपर्ने आवाज उठाएका थिए ।

‘बुस्टर डोजले डेल्टा लगायतका अन्य भेरियन्टलाई निस्तेज बनाउछ,’ क्यालिफोर्नियाको संक्रमण रोग तथा खोप अनुसन्धानसम्बन्धी संस्थाका प्राध्यापक सेन क्रोटी भन्छन् । डेल्टा भेरियन्ट भएका बिरामीमा अन्यमा भन्दा धेरै मात्रामा भाइरस देखिने गरेको चीनका अनुसन्धनाकर्ताको भनाई छ । डेल्टा भेरियन्ट रोग प्रतिरोध प्रणालीकै लागि ठूलो चुनौती भएको क्रोटी बताउँछन् ।

‘खोपको अतिरिक्त मात्राले मानिसहरुको रोगप्रतिरोधी क्षमता सशक्त बनाउने र डेल्टा भेरियन्टलाई मानिसको नाक तथा घाँटीमा पुग्न अवरोध गर्ने भएकाले कोरोना अन्य मानिसमा विस्तार हुँदैन,’ उनी भन्छन् ।

बुस्टर डोजको अवधारणा भाइरस र मानिसको रोग प्रतिरोधी प्रणालीबीचको दौड भएको उनको भनाइ छ । महामारीका अन्य भाइरस नियन्त्रण गर्न लगाइने खोप प्रायः तीनपटक लगाउनुपर्ने उनको भनाइ छ । जति पटक भाइरस दोहोरिन्छऽ त्यति नै थोरै समयमा एन्टिबडीले शरीरमा संक्रमण हुनबाट रोक्छ । स्रोत समाचार कारखाना

प्रतिक्रिया