देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै दबाबमा बाइडेन


काबुल – अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल बिमानस्थलबाट अफगानिस्तान छोड्न चाहने व्यक्तिलाई स्वदेश फर्काउने कार्य तीव्र भइरहेको बताएका छन् । अमेरिकी सेनाले काबुल विमानस्थलको धावनमार्गको पेरिमिटर विस्तार गरिरहेकै बेला राष्ट्रपति बाइडेनको सो भनाइ सार्वजनिक भएको हो ।

गत १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जा गरेपछि हजारौ अफगानीहरु काबुल विमानस्थलमा बसेका छन् । अमेरिकाले काबुल बिमानस्थलबाट अहिलेसम्म झन्डै २८ हजारलाइ स्वदेश फर्काएको छ । आगामी ३१ भदौसम्म सबै अमेरिकी स्वदेश फर्काइसक्नुपर्ने दबाब राष्ट्रपति बाइडेनमाथि छ । अमेरिकी सेनासँगै देश छोड्न जान चाहने अफगानीको संख्या बढेसँगै बाइडेन दबाबमा परेका हुन् ।

अमेरिकी सेना अफगानिस्तानबाट फर्किने अन्तिम समयसीमा हेरफेर गर्न राष्ट्रपति बाइडेनले विभिन्न मुलुकका नेताहरुसँग छलफल गरिरहेको बताएका छन् । ‘विमानस्थलको पेरिमिटर विस्तारलगायत हामीले केही परिवर्तन गरेका छौ’ उनले भने । यसअघि काबुलबाट तेस्रो मुलुकमा जाने मानिसका लागि १८ वटा व्यावसायिक विमान आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको थियो ।

विमानस्थलमा बढेको भिड र हुलदंगाका कारण पछिल्लो एक सातामा २० जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते भएका छन् । काबुल विमानस्थलबाहिर हजारौ मानिस काबुल छोड्ने आशमा दिन गनेर बसेका छन् ।

बेलायत फर्किन चाहने नागरिकलाई अफगानिस्तानको हमिद कारजाइ विमानस्थलमा तालिवानले सहयोग गरेको बेलायतका सशस्त्र फौजसम्बन्धी मन्त्री जेम्स हिप्पेले बताए । पछिल्लो नौ दिनमा बेलायतले पाँच हजार सात सय २५ जनालाई स्वदेश फर्काइसकेको छ । काबुलमा अझै पनि एक हजारभन्दा बढी बेलायती सेना छन् । समाचार कारखाना

 

प्रतिक्रिया