उखु किसानको बक्यौता रकम भुक्तानी गर्न ६ किसान संगठनको माग


काठमाडाैं – विभिन्न ६ किसान संगठनहरूले उखु किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न माग गरेका छन् । ६ किसान संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी चिनी मिलहरूले वर्षौंदेखि रोकिराखेको किसानको बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाई दिन सरकारसँग माग गरेका हुन् ।

विभिन्न दल निकट किसान संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी हुने व्यवस्था वर्तमान सरकारले गरिदिनुपर्ने जनाएका हुन् ।

‘यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राना छन् ।

प्रतिक्रिया