

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गर्न सांसदको माग

काठमाडौं – शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मा समक्ष यस्तो माग राखेका हुन्।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, सांसदहरु रामबहादुर यादव, सत्या पहाडी र रामकुमारी झाक्रीले दोषीलाई तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताएका छन् । सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा किनेको भेटिएको छ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन् । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताए ।

