नासा बिरूद्ध अदालतमा मुद्दा, आफ्ना प्रस्ताव अनुचित मूल्याङ्कन भएको ब्लू ओरिजिनको आरोप


काठमाडाैं – नासाले चन्द्रमामा मानव पठाउने एउटा परियोजनाका लागि २.९ अर्ब डलरको सम्झौता इलोन मस्कको स्पेसएक्स कम्पनीलाई दिएपछि जेफ बेजोसको स्वामित्व भएको कम्पनी ब्लू ओरिजिनले अदालतमा मुद्दा हालेको छ। एमजन कम्पनीका पूर्वप्रमुख तथा खर्बपति व्यापारी बेजोसको उक्त कम्पनीले सो सम्झौता ‘आधारभूत’ रूपमै त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई ‘अन्यायपूर्ण’ को संज्ञा दिएको छ।

सो सम्झौता दुवै कम्पनीलाई दिने अपेक्षा गरिएको थियो। तर बजेट अभाव भएको कारण देखाउँदै गत एप्रिलमा दुईवटा कम्पनीलाई नभएर एउटालाई मात्र दिने निर्णय गरिएपछि विवाद उत्पन्न भएको हो। नासाले ब्लू ओरिजिनको कदमबारे टिप्पणी गरेको छैन। तर उसलाई निगरानी गर्ने सङ्घीय निकायको समर्थन छ।

शुक्रवार अदालतमा दायर मुद्दामा ब्लू ओरिजिनले चन्द्रमामा अवतरण गर्ने प्रणाली निर्माण गर्न दुईवटा कम्पनी आवश्यक भएकोमा आफू विश्वस्त भएको उल्लेख गरेको छ।

उक्त प्रणाली प्रयोग गरेर चाँडोमा सन् २०२४ सम्ममा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा पुर्‍याउने नासाको योजना छ। टेन्डर प्रक्रियामा आफ्ना प्रस्तावहरूको नासाबाट ‘अवैधानिक तथा अनुचित मूल्याङ्कन’ भएको ब्लू ओरिजिनको आरोप छ।

चन्द्रमामा मानव पठाउने योजनाका लागि नासाले ३.३ अर्ब डलर माग गरेको भए पनि अमेरिकाको कंग्रेसले केवल ८५ करोड डलर स्वीकृत गरेको थियो।

नासाले इलोन मस्कको स्पेसएक्स कम्पनीको अन्तरिक्ष अभियानसम्बन्धी अनुभवलाई पनि सम्झौता प्रदान गर्ने आधार मानेको थियो। तथापि कबोल गरिएको रकमको पनि निर्णयमा भूमिका हुनसक्छ – स्पेसएक्सको कबोलमा अरूको भन्दा कम रकम उल्लेख थियो।

जुलाईमा उक्त सम्झौता हात पार्न सकिन्छ कि भनेर बेजोसले नासाको दुई अर्ब डलरसम्मको खर्च बेहोरिदिने प्रस्ताव गरेका थिए। तर त्यो स्वीकृत भएन।

प्रतिक्रिया