माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र


काठमाडौं – नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एक नेताले बताए ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन् । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ ।

यो पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया