

कांग्रेस सभापति देउवासामु शेखर कोइरालाका दुई ‘चोटिला’ प्रश्न यस्ता छन्

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता शेखर कोइरालाले दुई चोटिला प्रश्न गरेका छन्। शुक्रबार प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा भएको केन्द्रीय समितिको बैठकमा कोइरालाले प्रश्न गरेका हुन्।
उनले पार्टी कार्यालय सानेपामा बैठक नसक्नुको कारण माग्दै पहिलो प्रश्न गरे,‘त्यहाँका कार्यकर्ताको माग किन पूरा नगरेको? प्रधानमन्त्रीको घरमा बैठक गर्ने कि पार्टी कार्यालयमा?’
यसैगरी उनले कुनै विशेष महाधिवेशन नभई नियमित गर्नका लागि माग समेत राखेका छन्। सबै कार्यकर्ताको माग र क्रियाशीलताबारेको विवाद समाधान गर्न अग्रसर हुन देउवालाई आग्रह गरेका कोइरालाले भने,‘विशेष होइन, नियमित महाधिवेशनको कार्यतालिका खोई?’
यसैगरी नेता कोइरालाले प्रधानमन्त्री नियुक्त भएको एक महिना बित्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको विषयमा सोधेका थिए। उनले बधाई दिँदै प्रश्न गरे,‘१५ वटा मन्त्रालय खाली छन्। एक महिना भयो सरकार गठन भएको। तर, खोई त मन्त्रिमण्डल विस्तार भएको?’
कांग्रेसले सरकारको नेतृत्व गरिरहेका कारण छिमेकी भारत र चीनसँगको सम्बन्धलाई राम्रो बनाउने दायित्वमा नचुक्न कोइरालाको सुझाव थियो।

