कांग्रेस महाधिवेशन झन्डै दुई बर्ष धकेल्न चहान्छन् सभापति देउवा, कारण यस्तो छ


काठमाडौं– नेपाली कांग्रेसको भदौ १६ देखि १९ सम्म तय भएको १४ औं महाधिवेशन दुई बर्ष धकेल्ने तयारीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अगाडि बढेका छन्।

उनी पक्षधर जिल्ला सभापतिहरुले विशेष अधिवेशन गर्न नहुने भन्ने अडान र दबाब सार्वजनिक गर्नुले पनि देउवाको चाहनालाई बिम्बित गरेको छ। शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा नयाँ कार्यतालिका सम्बन्धी प्रस्ताव त जाने नै छ तर उक्त कार्यतालिकामा पनि महाधिवेशन हुन नसक्ने जिकिर नेताहरुले निकाल्नेछन्।

आगामी फागुनमा स्थानीय तहको निर्वाचन र लगत्तै मुलुक प्रदेश र प्रतिनिधि सभा निर्वाचनतिर उन्मुख हुँदा कांग्रेस महाधिवेशन प्रभावित हुने देखिन्छ। यसकारण पनि सबै निर्वाचन सकेर मात्र महाधिवेशनमा जानका लागि देउवाको प्रस्ताव रहने उच्च स्रोतले जनाएको छ।

देउवालाई के फाइदा?

सरकार प्रमुखका रुपमा रहेका बेला देउवामाथि स्थानीयदेखि प्रदेश र प्रतिनिधि सभा चुनाव गराउने दायित्व आइलागेको छ। यसलाई उनले कांग्रेस महाधिवेशनमा आफ्नो पक्षमा बलियो संगठन बनाउने अवसरका रुपमा पनि प्रयोग गर्न सक्ने बताइन्छ।

अहिले कांग्रेसभित्र सभापति पदका निम्ति विभिन्न पक्षबाट दाबेदारी आइरहेको छ। पुस्तान्तरणको विषय पनि उठेका सन्दर्भमा देउवा फेरि पनि सभापति बन्ने इच्छाअनुसार अगाडि बढेका छन्।

स्थानीय, आम निर्वाचनमा विभिन्न चुनावमा कांग्रेसको जित निस्कन सक्ने प्रक्षेपण र त्यसको जसले देउवालाई महाधिवेशनमा सभापति दोहोरिनका लागि सुविधा हुने विश्लेषण गरिएको छ।

यस्तै, आम चुनावमा संगठनात्मक रुपमा आफ्नो प्रभाव पार्नका लागि उनी विभिन्न तह र तप्कामा उम्मेदवार चयन गर्ने मामिलामा पनि महाधिवेशन केन्द्रित र प्रभावित बन्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया