राजनीतिक मैदानमा उत्रिने भइन् मनिषा कोइराला, को–को छन् साथमा?

हिन्दू राज्य र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्ने पार्टी गठनको तयारी


काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर(वीपी) कोइरालाकी नातिनी मनिषा कोइराला राजनीतिक मैदानमा उत्रिने भएकी छन्।

क्यान्सर जितेकी बलिउडमा सर्वाधिक चर्चा कमाएकी अभिनेत्री कोइराला पछिल्ला दिनमा नेपालको आन्तरिक राजनीतिक विषयमा गहन रुपमा अध्ययनमा थिइन्।

कतिपयले उनलाई नेपाली कांग्रेसको राजनीतिमा सहभागी हुने अड्कल काटेका थिए। तर नयाँ दल दर्ता गरी मैदानमा उत्रिने कोइरालाको तयारी रहेको छ।

उनको नेतृत्वमा रहने दलमा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी रहने बताइएको छ। सम्भवतः त्रिपाठी उक्त दलको सह–अध्यक्षका रुपमा रहनेगरी तयारी थालिएको स्रोतले जनाएको छ।

राजसंस्था, हिन्दूत्व र प्रजातान्त्रिक मुल्य मान्यतामा आधार रही सैद्धान्तिक लाइनलाई स्पष्ट पार्नेगरी ७१ सदस्यी केन्द्रीय समिति बनाएर पार्टी गठन र दर्ताको प्रक्रियामा लगिने बताइएको छ।

पदाधिकारीको संख्या कुन आधारमा कसरी गरिने भन्नेबारेमाचाहिँ आन्तरिक छलफल चलिरहेको बताइन्छ। उच्च स्रोतले भन्यो,‘नयाँ पार्टी गठन गरी अगाडि बढ्ने मोटामोटी छलफल भएको छ, केही समयमा घोषणा हुने सम्भावना छ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा तत्कालिन केपी शर्मा ओलीका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको एउटा ट्वीट शेयर गरेका कारण मनिषाको नेपाल र भारतमा व्यापक चर्चा भएको थियो। यसक्रममा उनी  राजनीतिक विषयमा पनि तानिएकी थिइन्।

एउटा अन्तरवार्ताका क्रममा उनले आफू राजनीतिमा सहभागी हुने संकेत दिएकी थिइन्। त्यसबेला उनले वीपी कोइरालाले राजासँग आफ्नो घाँटी जोडिएको भनी किन भनेका थिए भन्ने विषयमा कांग्रेसले मनन गर्नुपर्ने भनी अभिव्यक्ति दिएकी थिइन्।

मनिषाको पार्टीमा उनका भाई सिद्धार्थ पनि सरिक हुने बताइएको छ। यद्यपि, उनका बुवा प्रकाश कोइराला भने पार्टीमा सहभागी हुनेबारे कुनै जानकारी नरहेको स्रोतको दाबी छ।

वीपी कोइरालाका सबै पारिवारिक सदस्य कुनै न कुनै रुपमा राजनीतिमा सरिक भएको अवस्थामा मनिषाले पनि दल खोल्ने तयारी गरेको विवरणले राजनीतिक वृत्तमा खासगरी कांग्रेस वृत्तमा चर्चा पाएको छ।

प्रतिक्रिया