

भुटान सरकारले दिएको एस्ट्राजेनेका खोपकाे ३ लाख डोज आइपुग्यो काठमाडाैं

काठमाडाैं – भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाडाैं आइपुगेको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो । भुटानले तीन लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।
घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।
भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको विमान बिहान ९:१५ मा आइपुगेको हो।
भुटानबाट आएको ३ लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्। उक्त खोप कोभिसिल्डको पहिलो डोज लगाएका समूहलाई लगाइने बताइएको छ।
जापानबाट पनि एस्ट्राजेनेकाको खोप शनिबार आइपुग्ने बताइएको छ। भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि उब्रिएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको हो। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो। भारतले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएपछि नेपालमा गत माघबाट खोप अभियान शुरु भएको थियो।

