

तीन सातादेखि काँग्रेस कार्यकर्ता धर्नामा, भन्छन्- त्रुटि नसच्याएसम्म घर फर्किन्नौँ

काठमाडौं – क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै काँग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।
दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने धर्नामा बसेका एक कार्यकर्ताले बताए । पार्टीको १३औँ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ताको सदस्यता नवीकरण गर्नुको सट्टा नयाँ व्यक्तिलाई सदस्यताको सिफारिस गरिएको पार्टीका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवले बताए।
‘वडाबाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका व्यक्तिको नाम हटाएर अर्कैलाई सिफारिस गरिएको पाइयो’, पार्टी कार्यालय सानेपामा विगत २२ दिनदेखि धर्नामा बस्दै आएका यादवले भने, ‘फारममा एउटाको नाम छ, कम्प्युटरमा फरक व्यक्तिको नाम दर्ता भएको छ, यो त सरासर अवैधानिक काम हो ।’
बारा क्षेत्र नं २ मा ४४ वडामध्ये २२ वटा वडामा कार्यकर्ताले क्रियाशील सदस्यस्यताको फारम नै नपाएको नेता यादवको गुनासो छ । ‘फारममा कतिपयको नाममा टिपेक्स लगाएर अर्कैको नाम लेखेको सम्म गरेको पाइएको छ’, उनले भने । पार्टीको शीर्ष नेतृत्वले विवाद समाधान गर्न आश्वासन दिएको यादवले बताए ।
बारासँगै रौतहटका कार्यकर्तासमेत सानेपामा अनशनमा बस्दै आएका छन् । रौतहट क्षेत्र नं १ का नेता बज्रकिशोर सिंह पार्टीमा पुराना कार्यकर्तालाई अन्याय भएको बताउँछन्। ‘पार्टीको १४औँ महाधिवेशनको पूर्व सन्ध्यामा पुराना कार्यकर्तामाथि अन्याय भएको छ’, अनशनमा भेटिएका उनले निराशा व्यक्त गर्दै भने, ‘पार्टीमा प्रतिबद्ध र सिद्धान्त बुझेका कार्यकर्तालाई अपहेलना गर्ने काम भएको छ, त्रुटि नसच्याउँदासम्म हामी घर फर्किन्नौँ ।’ कतिपय ठाउँमा पार्टीको वडा सभापतिले सदस्यता फारम नै नपाएको पूर्व स्वास्थ्य राज्यमन्त्री रहिसकेका सिंहले दुखेसो गरे ।
विवाद उत्पन्न भएपछि काँग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन ६ गते बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेको समिति गठन गरेको थियो । समितिले बिहीबार थप परिमार्जनसहितको प्रतिवेदन बुझाइसकेको छ ।
सदस्यता विवाद मिलाउन काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसेको बैठकले पार्टीको नेतृत्व तहलाई पाँच दिनको समय दिएको छ । विवाद समाधानका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबिच छलफल हुँदै आएको छ । काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । काँग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

