पार्टी फुट्न दिन्न तर ओलीको जवाफ सुन्छुः प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटबाट जोगाउन भूमिका बलियो बनाउने बताएका छन्।

सोमबार खुमलटारमा स्थायी समिति सदस्यहरू हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग उनले तत्काल साझा प्रस्तावका लागि आफूले दर्ज गराएको प्रतिवेदन फिर्ता नलिने तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ सुन्ने बताएका हुन्।

अहिलेको अवस्थामा साझा प्रस्ताव राख्दै पार्टी विभाजनबाट जोगाउनु उपयुक्त हुने सुझाव दुवै स्थायी समिति सदस्यले दिएका थिए। जवाफमा प्रचण्डले पार्टी फुट्न नदिने बताएका थिए।

२८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले एकल रुपमा नै प्रतिवेदन दर्ता गराएपछि नेकपाको विवाद चरम उत्कर्षमा थियो। ओली पक्षका दोस्रो तहका नेताहरूसँगको परामर्शपछि गजुरेल र रायमाझी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

सोमबारै नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले पनि प्रचण्डसँग भेट गरेकी थिइन्। नेकपा विवाद समाधानसहित चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारे परामर्श भएको बताइन्छ।

प्रतिक्रिया