

एमालेको विघटित कार्यदल सदस्यहरुको निष्कर्ष: एकताको विषय लम्बिए पार्टीलाई थप क्षति

काठमाडौं – नेकपा एमालेको विघटित कार्यदलका नेताहरुले पार्टी एकताको विषय थप लम्बिए पार्टीलाई नै क्षति पुग्ने बताएका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टी एकताको विषय लम्बिए थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनु पर्नेमा जोड दिएका हुन् ।
बैठकपछि सचिव गोकर्ण विष्टले भने ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ,अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।’ उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि बताए ।
त्यस्तै नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए । उनले भने, ‘हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो ।’
त्यस्तै नेपाल पक्षले पार्टीभित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दै आएको छ ।
यसैगरी शनिबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने–नहुनेबारे मौन देखिएको छ ।

