चीनबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता, कहाँबाट कति खोप आयो ?


काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको विज्ञप्ति मार्फत जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जनाएका हुन् ।

यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुनेछ ।

असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने विश्वास मन्त्रालय गरेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै भारतबाट खरिद सम्झौता भएका १० लाख, अनुदानबाट ११ लाख, कोभ्याक्ससुविधानमार्फत ३ लाख ४८ हजार गरी कुल २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भइसकेको छ ।
यस्तै अमेरिकाबाट अनुदानमा जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप प्राप्त भएको छ ।

विज्ञप्ति सहित :

प्रतिक्रिया