

स्वास्थ्य सेवा लिन चार घण्टा हिँडनुपर्ने अवस्था हट्यो

सिन्धुपाल्चोक–भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था शनिबारदेखि हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरूको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।
लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे । अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् । सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
(रासस)

