नेपाल प्रहरीमा सौरभ राणालाई ‘न्यानो न्याय’

झूठा अभियोगका कारण ‘कलिग’हरूभन्दा पछि पर्दा जुनियरले पनि उछिने


काठमाडौं– बिहीबार राती गृह मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा नायब महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारिस भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत रहेका राणा आफ्नो ब्याचमा अब्बल प्रहरी अधिकृतका रुपमा परिचित थिए। उनकै ब्याचमेट शैलेश थापा क्षत्री हाल प्रहरी महानिरीक्षक (आईजीपी) छन्।

यसअघि दुई पटकसम्म भएको डिआईजी बढुवा सिफारिसमा राणा परेनन्। ब्याचमेटहरु आईजीपी, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र डिआईजी हुँदा उनी छुटिरहे।

ब्याचमेट हरि बहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की एआईजी हुनु स्वभाविक भए पनि राणाभन्दा जुनियर अधिकृतहरु समेत एआईजी भइसकेका छन्। आफ्नो ब्याचका ११ जना डिआईजी भएको एक वर्षपछि राणा बढुवा सिफारिस भएका हुन्।

प्रहरी संगठनमा अब्बल मानिएका राणा आफ्ना ब्याचमेटभन्दा पनि पछाडि डिआईजीमा बढुवा सिफारिस भएपछि विभिन्न टिका टिप्पणीहरू भएका छन्।

ब्याच मेटहरु आईजी र एआईजी हुने हल्ला चलिरहेको बेला राणा केही समय हराएर गुमनाम जस्तै थिए।

कतिलाई त थाहा पनि छैन होला राणा अहिलेसम्म कता थिए? उनको कुन ठाउँमा दरबन्दी थियो?

तर, राणाको व्यथा आफैसँग थियो।

लामो समयपछि राणाको नाम फेरि चर्चामा छ। राणालाई न्याय मिलेको भन्दै सामाजिक सञ्जालहरुमा बधाई दिनेहरुको ओइरो छ। धन्य–धन्यको बढुवाले राणाको सहानुभूति र खुसी सामाजिक सञ्जालमा छाइरहेको छ। कतिपयले आलोचना पनि गरेका छन्।

संघीय प्रहरी इकाइ धरानको प्रमुख भएको बेला राणामाथि ठूलो बज्रपात आइलाग्यो। त्यतिबेला एसएसपी राणाले यौन शोषणको आरोप खेप्दा केही समय विवादमा थिए।

घटनाले सामाजिक सञ्जालदेखि मिडियासम्म ठूलो रुप लिएपछि गृह मन्त्रालयले २० मंसिर २०७६ मा एसएसपी राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्यो।

प्रहरीको उच्च तहमा पुगिसकेका व्यक्तिमाथि अनुसन्धान हुने भएपछि गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १७ माघमा जागिरबाटै ६ महिनाको निलम्बन गर्यो। निलम्बनको भोलिपल्ट सुनसरी प्रहरीले राणालाई सङ्घीय प्रहरी इकाइ कार्यालयबाटै पक्राउ गरेको थियो।

त्यतिबेला यौन शोषणको आरोपबारे सोध्दा एसएसपी राणाले एउटा कुरा भने, ‘कसले ममाथि के आरोप लगायो मलाई केही पनि थाहा छैन। छानबिन गर्न निर्देशन छ भने छानबिन होला, सत्यता पत्ता लाग्ला।’ राणाले उल्टो प्रहरी अनुसन्धानलाई सहज बनाइदिन्थे।

उनलाई पछिल्लो पटक अदालतले ८ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। तथ्यगत आधारमा नै टेकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा राय बुझाउने गर्छ।

फागुनको पहिलो हप्तातिर सुनसरी प्रहरीले अनुसन्धान सकेपछि रायसहितको फाइल सरकारी वकिलको कार्यालयमा पठायो। जतिबेला सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै एसएसपी राणाविरुद्धको फाइल नै दर्ता गर्न मानेन्।

जतिबेला एसएसपी राणामाथि उजुरी हाल्ने महिलाले झुटो बयान दिएको खुलेको थियो। युवती घटना भएको भनिएको २५ साउन २०७६ मा राणा काठमाडौं र महिला झापामै रहेको खुलेको थियो। सिडिआर (कल डिटेल रेकर्डर)अनुसार दुवैजनाको कल लोकेशन काठमाडौं र झापा देखाएको थियो।

एसएसपी राणालाई नियतबस फसाउन खोजिएको भन्ने त्यहिँ पुष्टि हुन्छ जब ति महिलाले दिएको जाहेरीमा २५ साउनमा इटहरीको होटलमा बलात्कार गरेको भन्ने थियो। तर, एसएसपी राणा त्यसबेला राजधानी काठमाडौंमा थिए।

जबकि, एसएसपी राणा भदौमा मात्र संघीय प्रहरी कार्यालयमा सरुवा भई हाजिर भएको देखिन्छ भने उक्त मितिमा राणा काठमाडौंमा रहेको उनको मोबाइलको लोकेशनलगायत प्रभावकारी र मुख्य प्रमाणका रुपमा भेटिएको थियो।

महिलाले जोहरीमा झुटो आरोप लगाएको पुष्टि भएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता नहुने बताएपछि सुनसरी प्रहरी ब्याक भयो। जतिबेला सुनसरी प्रहरी प्रमुख थिए, एसपी यज्ञविनोद पोखरेल।

एसपी पोखरेल पनि एसएसपी राणालाई फसाउने पक्षमा थिए। आफ्नै हाकिमविरुद्ध उनले भित्रभित्रै अनेक कुटिल चाल चालिरहेका थिए। तर, पनि उनको केही लागेन अन्तत प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयको आदेशमा राणा रिहा भए।

प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न नमिल्ने भनेपछि एसएसपी राणामाथि लगाइएको निलम्बन फुकुवा हुुनपर्ने थियो। तर, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै वास्तै गरेनन्। उल्टो राणालाई थप अन्याय गरे।

जतिबेला प्रहरी प्रमुख थिए, ठाकुर ज्ञवाली। त्यसपछि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आवश्यक औपचारिक कारवाही पूरा गरेर निलम्बन फुकुवा गर्ने तालुकदार गृह मन्त्रालयमा पठाएको थियो।

उल्टो सरकारी वकिलले छाड्न आदेश दिए पनि गृह मन्त्रालयले छानबिन समिति बनाएर एसएसपी राणासँग बयान लिने काम गर्यो।

बयानमा पनि एसएसपी राणाले त्यहि कुरा दोहोर्याए– ‘कसले ममाथि के आरोप लगायो मलाई केही पनि थाहा छैन। छानबिन गर्न निर्देशन छ भने छानबिन होला, सत्यता पत्ता लाग्ला।’ गृह आफैंले छानबिन प्रक्रिया अघि बढाएपनि केही नयाँ ‘क्लू’ फेला परेन।

छानबिन प्रतिवेदनका आधारमा मात्र राणाको निलम्बन फुकुवा गर्ने गृह मन्त्रालयको तयारी थियो। राणाले दिएको निवेदनका आधारमा कारवाही ६ महिनापछि फुकुवा गरियो। तर पनि उनको ६ महिनापछि स्वतः निलम्बन फुकुवा हुन्थ्यो।

त्यसपछि उनी पुनः जागिरमा जोडिए।

जागिरमा जोडिएको एक वर्षपछि उनी डिआईजीमा बढुवा सिफारिस भएका हुन्। आफ्ना ब्याचमेटहरु डिआईजी भएर इन्चार्ज खाइसकेको अवस्थामा उनको डिआईजीमा बढुवा हुनु उनलाई हल्का भए पनि न्याय मिलेको प्रहरी संगठनभित्र चर्चा छ।

यौन शोषणको आरोपमा एसएसपी राणाको जागिरबाट निलम्बनदेखि ‘करिअर’मै ठूलो ब्रेक लागेको कुरामा दुईमत छैन।

नेपाल प्रहरीमा ११ चैत २०४९ देखि सेवा सुरु गरेका राणाले सो अवधिमा मानसिक तनाव, सामाजिक अवहेलना खेप्नुपर्यो। उनले डिआईजी त पाए, तर उनको त्यहाँभन्दा माथि जाने सम्भावना साँघुरिएको छ।

के थियो घटना?

२०७६ कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्। उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी थिइन्।

त्यतिमात्र होइन ती महिला उजुरी लिएर गृह मन्त्रालय पनि पुगेकी थिइन्। ती महिलाले तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दाबी गरेकी थिइन्।

महिलाले राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै चिनजान र सम्बन्ध भएको बताएकी थिइन्। राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत थिए।

राणा पछिल्ल्लो पटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत थिए।

पछिल्लो पोस्टिङमा राणा धरान पुगेपछि ती महिलाले आफूलाई राणाले यौन शोषण गरेको आरोप लगाएकी हुन्। जतिबेला ती महिलाले आफूलाई ‘जीवन साथी’नै मानेर राणाले प्रयोग गर्दै आएको र आफूबाट ठूलै धनराशी पनि लगेको आरोप आरोप निराधार प्रमाणित भयो र राणाले न्याय पाए। नखाएको विषले उनको करिअरमै ठूलो असर गर्यो।

प्रतिक्रिया