

जसपा बहुमतपक्षको निष्कर्ष: महन्थले माफी नमागेसम्म एकता असम्भव

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी नमागेसम्म एकता नहुने बताएका छन् । निर्वाचन आयोगमा दिएको पार्टी आधिकारिकताको निवेदन फिर्ता लिन उपेन्द्र यादवलाई प्रस्ताव आएसँगै मंगलबार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो ।
ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको सन्दर्भमा आफूहरुको बैठकले ठाकुरले जनतासँग माफी मागेमात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको सांसद प्रदीप यादवले जानकारी दिए ।
पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए । दोस्रो पटक विघटन हुँदा पनि उनीहरुले नै ओलीलाई साथ दिएपछि जसपामा तीव्र अन्तरविरोध हुँदै पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगसम्म विवाद पुगेको हो ।
तर यता जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य शरत सिंह भण्डारीले भने एकताका लागि विभिन्न कोणबाट छलफल भएपनि ठोस प्रस्ताव उपेन्द्र यादवलाई नपठाएको बताए । यद्यपी आयोगमा दिएको निवेदन फिर्ता लिए एकताको वातावरण बन्ने उनको धारणा थियो ।
हाल जसपा संसदीय दलको नेतामा यादव पक्षको बहुमत देखिएको छ ।

