

प्युठानबाट ल्याइएका ज्योतिषले कुन दिन निकाले प्रधानमन्त्री देउवा बालुवाटार छिर्ने साइत?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार छिर्ने साइत तय भएको छ। निजी निवास बुढानिलकण्ठबाट बालुवाटारका लागि उनले साइत देखाएका थिए।
उनलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी गर्ने ज्योतिष सुरेशचन्द्र रिजाललाई प्युठानबाट काठमाडौं ल्याएर बालुवाटार प्रवेशको साइत जुराइएको हो।
बुढानिलकण्ठ स्रोतका अनुसार शुक्रबार विहान देउवा बालुवाटारमा प्रवेश गर्नु उचित हुने साइत रिजालले निकालेका छन्।
ज्योतिष रिजालले ग्रहदशा बलियो रहेका कारण उनी प्रधानमन्त्री बन्ने बारम्बार भविष्यवाणी गरेका थिए। उनले पछिल्लो पटक ७७ फागुनमा ४ महिनापछि मात्र देउवा प्रधानमन्त्री बन्ने योग रहेको खुलाएका थिए।
ज्योतिष रिजाल राजनीतिक गतिविधिमा पूरै अपडेट हुन्छन्। उनले ५ पुस ०७७ मा प्रतिनिधि सभा भंग गरी चुनावको घोषणा भएका बेला भनेका थिए,‘अहिले चुनाव हुने योग छैन। बृहस्पती तल परेको बेला यो सम्भव नै छैन।’
हुन पनि रिजालले भनेअनुसार भयो र प्रतिनिधिसभा पुनःस्थापना भयो। बृहस्पती गुरु र शनि चेला भएको विश्लेषण गर्दै ज्योतिष रिजालले गुरु मुनि परेको र चेला माथि परेको बेला चुनावी कार्यक्रम हुनै नसक्ने ठोकुवा अनुसार नै सर्वोच्च अदालतले ११ फागुनमा सदन पुनःस्थापना गरेको थियो।
राशीमा पनि देउवा बलियो भएको उनको तर्क थियो। देउवा कुम्भ राशीका हुन्। यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाए। यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको दाबी ज्योतिष रिजालले पेश गरे।आरजु मेष राशीकी हुन्।

